जाजरकोट । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धिताल सहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरी झ्याप परेको पाईएको छ ।
वेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको पाईएको हो ।
नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ । कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए ।
सार्वजनिक विदाको दिन भन्दै कार्यालय भित्र प्रवेश गरी मदिरा सेवन गर्नु कस्तो गैरजिम्वारीपन भन्दै नेकपा भेरी नगरकमिटी ईन्चार्ज विराजन शाहीले कारवाहीको माग गरिरहेको बताए । विदाको दिन भएकोले आफ्नै क्वाटरको बाहिर साथीभाई बसिरहेको कार्यालय प्रमुख धिताले बताए । यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारवाही गरिने बताए ।
उनले भने, ‘भोली विहान छलफलका लागि बोलाएका छौं आवश्यक कारवाही हुन्छ ।’ कार्यालय समयमा र सार्वजनिक विदा बाहेक अन्य समय भए अहिले नै नियन्त्रणमा लिई कारवाही गरिने तर सार्वजनिक विदाको दिन क्वाटर नजिकै भएकोले नियन्त्रणमा नलिएको प्रजिअ शाहीले बताए ।