हचुवाको भरमा सडक खन्दा नलगाड-३ का दर्जनौं घर जग्गा पहिरोको उच्च जोखिममा


जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ३ चावलेचौरका दर्जनौ घर जग्गा पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय र प्रदेश सरकारले हचुवाको भरमा सडक निर्माण गर्दा दर्जनौ घर जग्गा पहिरोको उच्च जोखिममा परेका हुन् ।

कैना —चावलेचौर जोड्ने सडकमा रहेका एक दर्जन भन्दा बढी घर जग्गा पहिरोको उच्च जोखिममा रहेको स्थानीय अमृत पुनले बताए । उनले भने, ‘क्षतिको अनुमान नगरी हचुवाको भरमा खनिएका सडकले उत्पादन हुने जमीन गुम्यो, घर कति वेला बगाउँछ भन्ने डर छ ।’

सडकखण्ड अन्तर्गत अमृत पुन, कृष्ण बहादुर बिक , शान्त बहादुर पुन,हर्क बहादुर बिष्ट ,पदम बुढा , युवराम बुढा , शिव राना लगायतका स्थानीय किसानको उब्जनी हुने जमीन तथा घर पहिरोको चपेटामा परेका छन। अघिल्लो स्थानीय सरकारले आफुलाई अब्बल देखाउनका लागि गरिएको बिकासले अहिले आफुलाई बिनाशको उपहार दिइरहेको स्थानीयको गुनासो छ ।

स्थानिय कृष्ण बहादुर बिकले भने “सडक खन्दा अनुनय बिनय गर्यौ जग्गा कै बिचबाट सडक खने,घर भन्दा तलबाट सडक हालियो घर बचाउन मेसिनरी बाल तथा तार जालिको ब्यबस्थापन गर्ने आश्वासन दिए तर आधा बर्षायाम भयो घर जान थाली सक्यो जग्गा बग्यो तर अहिले सुनिदिने कोहि छैन” ।

त्यस्तै शिव रानाले पनि थपे , ‘अन्त बस्नलाई अरु ठाउँमा घर जग्गा छैन, यही घरमा बसिराख्ने हो भने आफ्नो घर सङ्गै आफुपनि कतिबेला बर्खे पहिरोको सिकार भइन्छ भनेर रातभरी निन्द्रा लाग्दैन ।’

उक्त खनिएको सडक निर्माण गर्दा उपभोक्ता समितिले भ्रष्टाचार गरेको समेत बताइएको छ।एक जना स्थानिय युवाले नाम नभन्ने सर्तमा भने”कैना-चावलेचौर सडक खण्ड अन्तरगत गारेखोला देखि चावलेचौर बिधालय सम्म जम्मा ३ किलोमिटर सडक खन्न ३० लाख आएको र सडक खन्दा उपभोक्ता समिती र निवर्तमान जनप्रतिनिधिको मिलोमतोमा रकम झ्वाम पारे,मैले मात्र बोल्न मिल्दैन सबैको हिम्मत छैन ।अझै उनले थपे यहाँ बिकास जे जे भएका छन ती बिकास निर्माणका नाममा गोजि भरेको समेत उनले आरोप लगाए।”

विकास निर्माणको काममा मापदण्डको प्रयोग गरी निर्माण गर्दा स्थानीय जनतालाई यति सम्मको मार नपर्ने जानकारहरु बताउँछन् । अधिकांश स्थानीय तहले निर्माण गरेका सडकहरु अहिले बेकामे बनेका छन् ।

प्रकाशित मितिः  २३ श्रावण २०७९, सोमबार ०३:५०  |