‘दर्शक बढाउने भए टुंडिखेलमा फिल्म देखाउँ’ : उदय


फिल्म हलहरुको छाता संगठन चलचित्र संघले गरेको पछिल्लो निर्णयले नेपाली फिल्म क्षेत्रमा ठुलै कम्पन ल्याएको छ । हल र डिटिएचमा (Direct to Home) एकै पटक रिलिज गर्ने निर्माताको फिल्म हलमा नचलाउने संघको निर्णयले निर्माताहरु आक्रोशमा आएका छन् । आफ्नो सम्पत्तीलाई जहाँ पनि देखाउन पाउनु पर्ने निर्माताहरुको माग उठिरहेको बेला चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय भने हल र डिटिएचमा फिल्म देखाउँदा निर्माता लाई नै घाटा हुने तर्क गर्छन् ? कसरी त ?

हरेक हप्ता नेपाली फिल्म घरमा हेर्न थालेपछि विदेशी फिल्महरु मात्रै हलहरुमा रिलिज हुन्छन्, जुन फिल्म घरमा हेर्न पाइँदैन् । यस्तो अवस्थामा हलवालालाई त घाटा हुने कुरै छैन । विदेशी फिल्मबाट पनि व्यापार भैहाल्छ । यसको सिधै घाटा त निर्मातालाई हो । अहिले पो डिटिएचमा डिमान्ड ज्यादा र सप्लाई कम छ । भोलि सप्लाई ज्यादा हुंन थालेपछि कम मुल्यमा किन्न डिमान्ड हुंन जान्छ । उता डिटिएचले निर्मातालाई रकम कम दिंदै जाने अनि नेपाली फिल्म हेर्न हलमा दर्शक नआउँने हुँदा यसको घाटा कसलाई ? घाटा त नेपाली फिल्म क्षेत्रलाई नै हो नि । यसकारण तत्काललाई केही निर्मातालाई फाइदा भएपनि भोलिको दिनमा हल र डिटिएचमा एकसाथ फिल्म देखाउँदा निर्माताहरु लाई नै घाटा हुने देखेर यस्तो निर्णय लिन संघ बाध्य भएको हो ।

प्रश्न : तर चलचित्र संघले फिल्म देखाउने निर्माताहरुको स्वतन्त्र अधिकार माथि हनन गर्यो भन्ने आरोप छ नि ?
उत्तर : व्यापार भनेको स्वतन्त्र नै हुनुपर्छ । हामीले डिटिएचमा फिल्म रिलिज गर्न पाईंदैन भनेको छैनौं । त्यहाँ एकैदिन रिलिज गरिने फिल्महरु मात्रै हलमा रिलिज नगर्ने भनेका हौं । जसरी उहाँहरुले रिलिज गर्ने हाम्रो स्वतन्त्र अधिकार भनेर भन्नु भएको छ, त्यसैगरी डिटिएचमा एकै दिन फिल्म चलाउँदा हाम्रो हलको व्यावसायमा असर पर्ने हुनाले त्यो फिल्म हामी चलाउँदैनौं भन्ने निर्णय गरेका हौं ।

प्रश्न : यो निर्णय चाहिं निर्माताहरुबिच समन्वय नै नगरी हतारमा किन गरियो ?
उत्तर : उहाँहरुले पनि त हामीसँग सल्लाह नै नगरी ‘डिटिएच’ मा फिल्म लगाउने निणर्य गर्नुभयो । जबकी वितरकसँगको सम्झौतामा हलमा फिल्म रिलिज भएको यति महिनासम्म कुनै पनि विधुतिय माध्यममा फिल्म रिलिज गर्न पाईंदैन भने बुँदामा लेखिएको हुन्छ । उहाँहरुले त सहमती तोडेर हिंड्नु भयो । उहाँहरुले एकपक्षिय रुपमा सम्झौता तोड्नु भयो र हामी नयाँ नियम ल्याउन बाध्य भयौं ।

प्रश्न : घाटा नाफाको हिसाब आफ्नै ठाउँमा होला तर डिटिएचमा फिल्म रिलिज गर्दा नेपाली फिल्म हेर्ने दर्शक त बढे नि ?
उसो भए टुंडिखेलमा फिल्म देखाउँदा भैहाल्यो त । हामीले के हो लागि फिल्म बनाइरहेका छौं । हामीले व्यावसाय गरिरहेका छौं होइन । घरमा फिल्म देखाउँदा दुई सय रुपैयाँले दश जनाले फिल्म हेर्छन् । दश मध्ये पाँच जना मात्रै हलमा गए भने एक हजार रुपैयाँ आउँछ । अब कता फाइदा त ? सबै दर्शकले हेरोस् भन्ने चाहना हो भने सित्तैमा देखाइदिए भो । हल र टुंडिखेलमा एकैदिन फिल्म देखाउँ ।

प्रश्न : कात्तिक २ गते प्रदर्शनमा आउने फिल्म ‘रुद्रप्रिया’ चाहिं के हुन्छ त ?
उत्तर : अब अहिलेलाई त त्यही निर्णय कायम छ । मुलुकमा अराजकता हुन थाल्यो भने करफ्यु त लगाउनै पर्छ । तर कसैलाई मर्का परिरहेका छ भने त्या ठाउँमा अलि पछि पनि कर्फ्यु लगाउन सकिन्छ । हो, ‘रुद्रप्रिया’को हकमा पनि कर्फ्युलाई अलि पछि लगाउन सकिने सम्भावना छ ।

प्रकाशित मितिः  ३ माघ २०७५, बिहीबार ०७:२८  |