टिकटकसँग किन डराउँदैछ अमेरिका ? तर झन् लोकप्रिय बन्दै छ टिकटक |


साउन २६, २०७७
श्रव्यदृश्य साझेदारी गर्ने मोबाइल एप्लिकेशन टिकटकका कारण यतिखेर अमेरिका–चीन तनाव थप बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अपरेशन कुनै अमेरिकी कम्पनीले खरिद नगरेमा प्रतिबन्ध लगाइदिने चेतावनी दिएका छन्। टिकटकको लोकप्रियता अमेरिकामा यति धेरै छ कि दुई वर्षभित्रै यसका प्रयोगकर्ता करोडौं पुगिसकेका छन्। प्रयोगकर्ताको अत्यधिक वृद्धिलाई कारण देखाउँदै अमेरिकी सरकारले देशको सुरक्षामा टिकटक खतरा भएको बताइरहेको छ। एउटा भिडियोको तरङ्ग सन् २०१८ को डिसेम्बरताका यो एपमा एक भिडियो पोष्ट भएको थियो। सो भिडियोमा एउटा रातो भालु मधुर उज्यालोमा खडा भएको थियो र पाश्र्वमा चर्चित गीत समवन लाइक यु गीत बजिरहेको थियो। सो भिडियो यति लोकप्रिय भयो कि जसलाई मानिसहरुले बारम्बार हेरिरहे र आजसम्म त करोडौं मानिसहरुले हेरिसकेका छन्। हजारौं मानिसहरुले यस भिडियोको नक्कल पार्दै अन्य सोसल मिडिया एप्लिकेशनहरुमा पनि पोष्ट गरे। सार्वजनिक भएको केही समयमै टिकटकले विश्वका करोडौं रचनात्मक युवाहरुलाई आफुतर्फ आकर्षित गर्न सक्यो। म्युजिकल्ली र डुयिनको तरङ्ग टिकटक जसरी लोकप्रिय भयो, यसको सुरुवात भने त्यति सजिलोसँग भएको थिएन। यसका पछाडि अलग–अगल एप्लिकेशन रहेका छन्‌। यी मध्ये पहिलो एप म्युजिकल्ली थियो, जो सन् २०१४ मा सांघाई शहरमा लञ्च भएको थियो।
अमेरिकी बजारमा यो एपको निकै धेरै दर्शक थिए र व्यापारिक सम्बन्ध पनि निकै मजबुद थियो। सन् २०१६ मा चीनकै ठूलो प्रविधि कम्पनी बाइटडान्सले डुयिन नाम गरेको यस्तै अर्को एप लञ्च गर्‍यो। लञ्च भएको एक वर्षभित्रै यो एपले चीन र थाइल्याण्डमा १० करोड प्रयोगकर्ता बनाइसकेको थियो। त्यसपछि बाइटडान्सले म्युजिकल्ली खरिद गर्‍यो र अर्को नाम टिकटकबाट आफ्नो कारोबार अघि बढाउने निर्णय गर्‍यो। प्रयोगकर्ता हुरूक्कै ! संगीत र निकै शक्तिशाली एल्गोरिदमले टिकटकलाई पनि सफल बनाइदियो। कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स) मार्फत टिकटकले आफ्ना प्रयोगकर्तालाई के मन परेको छ भन्ने थाहा पाउँछ र त्यस्तै सामग्री देखाइदिन्छ। अन्य एपका तुलनामा टिकटक यो मामिलामा निकै अघि छ।
बीबीसीका अनुसार गत जुलाइसम्ममा विश्वभर एक अर्ब पटक टिकटक डाउनलोड भैसकेको थियो। जब कि यो एपका सक्रिय प्रयोगकर्ता जम्माजम्मी ५० करोड मात्र थिए। एक वर्षपछि नै टिकटकले थप ३० करोड प्रयोगकर्ता थप्न सफल भयो। चीनको एउटा मोबाइल एप्लिकेशन निकै छिटो संसारभरका मानिसको जीवन हिस्सा बन्न सक्यो। शक्तिको खेल वैश्विक शक्ति सन्तुलन (वर्ल्ड अर्डर) लाई एउटा मनोरञ्जनात्मक एप्लिकेशनले नहल्लाउनुपर्ने हो। तर यस्तै भइदियो। अनि, चीनसँग शक्ति संघर्ष गरिरहेका देशहरु यही एपमाथि खनिन थाले। एसियामा चीनसँग टक्कर लिन खोज्ने भारत र विश्व महाशक्ति अमेरिकाले चीनमाथि यही एपलाई लिएर आरोप लगाउन थाले। आफ्ना देशमा रहेका प्रयोगकर्ताहरुको गोपनीयता तथ्यांक चोरेको आरोप टिकटकसँगै चीनले खेपिरहेको छ। तर विश्वका अधिकांश प्रयोगकर्ताहरुले नै यो आरोपको खण्डन गरिरहेका छन्। चीनका हरेक ठूला कम्पनीमा एक आन्तरिक इकाई हुने र त्यो प्रत्यक्ष रुपमा कम्युनिष्ट पार्टीप्रति जवाफदेही रहेको आरोप अमेरिकालगायत मुलुकले लगाउँदै आएका छन्। यो एपमार्फत चीनको सत्ताधारी पार्टीका गुप्तचरहरुले खुफिया जानकारी एकीकृत गरिरहेको आरोप नै अहिलेको विवादको मुख्य विषय हो।
  भारतले सन् २०१९ अप्रिलमा टिकटकमाथि प्रतिबन्ध लगायो। अश्लिलता फैलाएको आरोप लगाएको थियो। तर, पछि भारत सरकारले यो प्रतिबन्ध हटाएको थियो। लद्दाखको गलवान उपत्यकामा चिनियाँ सैनिकसँगको भीडन्तमा आफ्ना दर्जनौं जवान मारिएपछि भारतले फेरि गत जुनमा यो एपमाथि प्रतिबन्ध लगायो। यसपटक चाहिँ भारतले अमेरिकाकै तर्क अघि सार्‍यो : चीनले टिकटकमार्फत तथ्यांक चोरिरहेको छ र यो देशका लागि सुरक्षा खतरा बनेको छ। जारी खुफिया जाँच अमेरिकाले पनि सन् २०१९ मै राष्ट्रिय सुरक्षाको दृष्ट्रिले टिकटकमाथि समीक्षा थालेको थियो। डेमोक्रेटिक र रिपब्लिकन सिनेटरहरुले यो एपका कारण सुरक्षा खतरा भएको दावी गरेका थिए। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालै भनेका थिए कि टिकटक यस्तो चिनियाँ एप हो, जसले प्रयोगकर्ताको गोपनीयता चोरेर चीनको कम्युनिष्ट पार्टीलाई पठाउने गर्छ। बेलायत र अस्ट्रेलियाको खुफिया एजेन्सीहरुले पनि टिकटकमाथि अनुसन्धान गरिरहेका छन्। तर अहिलेसम्म यी दुवै देशले के विषयमा अनुसन्धान गरेको भन्ने खुलाएका छैनन्। तनाव नै मुख्य कारण बीबीसीका अनुसार टिकटकमाथि यसरी विभिन्न मुलुक खनिनुका पछाडि चीनसँग बढ्दै गएको तनाव नै मुख्य कारण हो। व्यापारलाई लिएर अमेरिका चीनसँग भिडिरहेको छ।
भारत र चीनबीच सीमामा हिंस्रक झडप भएको छ र बेलायतले हङ्गकङ्गमा चीनले जारी गरेको नयाँ सुरक्षा कानुनको विरोध गरिरहेको छ। प्रयोगकर्ताको तथ्यांकलाई टिकटकले के गर्छ भन्नेबारे अहिले विवाद चलिरहेको छ। गोपनीयता नीति (प्राइभेसी पोलिसी)अनुसार यो एपले निकै धेरै तथ्यांक एकीकृत गरिरहेको भनिएको छ। प्रयोगकर्ताले कुन भिडियो हेरिरहेका छन् र कुनमा कमेन्ट गरेका छन्, कुन स्थान (लोकेसन)बाट चलाइरहेका छन्, कुन मोडलको फोन प्रयोग गरेका छन् र अपरेशन सिस्टम कुन छ, जब मानिसहरु टाइप गर्छन् : त्यतिखेर कुन कुन बटन थिच्छन् भन्नेसम्मका जानकारी टिकटकले लिने गरेको आरोप लागेको छ। तर रेडिट, लिंक्डइन र बीबीसी न्युजजस्ता दर्जनौं एपले पनि यस्तो गर्ने गर्छन्। टिकटकले यस्ता तथ्यांक एकीकृत गर्नृ कुनै अनौठो कुरा होइन। धेरै प्रमाणहरुले यो बताउँछन् कि फेसबुकले जस्तै टिकटकले पनि यस्ता तथ्यांक बटुल्ने गर्छ। तथ्यांकलाई लिएर विवाद भएपछि टिकटकले हालै फराकिलो पारदर्शिता लागु गर्न आफु तयार रहेको र तथ्यांक संकलन तथा कामकाजलाई लिएर जनाएका चिन्ता हटाउने बताइसकेको छ। टिकटकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केविन मेयरले विशेषज्ञहरुलाई एल्गोरिदम जाँच गर्ने अनुमति दिइने बताएका छन्। केविन यसअघि डिज्नीका सिइओ रहिसकेका व्यक्ति हुन्। डिज्नीमा तथ्यांक र कोडको कडा सुरक्षा दिने गरिन्छ। चिन्ताका विषय तर चिन्ता यो मात्र होइन। बरु चीन सरकारले बाइटडान्समार्फत तथ्यांक एकीकृत गर्न बाध्य पार्नसक्ने जोखिमलाई पनि अमेरिकी प्राविधिकहरुले जोखिम मानेका हुन्।
चीनले सन् २०१७ मा पारित गरेको राष्ट्रिय सुरक्षा कानुनले देशका प्रत्येक कम्पनी र नागरिकलाई सरकारको खुफिया कामका लागि मद्दत र सहयोग गर्न बाध्य पारेको छ। तर चीनको ठूलो प्रविधि कम्पनी हुवाय र टिकटकका शीर्ष अधिकारीहरुले सरकारले तथ्यांक मागेपनि आफूहरुले दिन नसक्ने कुरा बारम्बार दोहोर्‍याइरहेका छन्। दोस्रो चिन्ता चाहिँ सेन्सरसीप र प्रयोगकर्ताका विचार तथा बहसलाई प्रभावित पार्ने चीनको क्षमतासँग जोडिएको भनिएको छ। टिकटक यस्तो प्लेटफर्म हो : जहाँ धेरैभन्दा धेरै मानिसहरुले आफ्ना विचार राखिरहेका हुन्छन्। गत मे महिनामा टिकटकमार्फत अमेरिकी अश्वेत आन्दोलन ब्ल्याक लाइफ्स म्याटर ट्रेन्ड गरिएको थियो। ह्यासट्याससहित पोष्ट गरिएका भिडियो दसौं करोड मानिसहरुले हेरेका थिए। पछि टिकटकमाथि अश्वेत सम्प्रदायलाई लिएर बनाइएका सामग्री हटाएको या लुकाएको आरोप लाग्यो। सामग्री चयनमा टिकटकको एल्गोरिदमलाई लिएर आलोचना भएको यो नै पहिलो पटक भने होइन।
द इन्टरसेप्टको एक रिपोर्टअनुसार गरीब र कुरुप मानिसहरुको सामग्री टिकटकले लुकाएको थियो। गत साल बेलायती अखबार गार्डियनले टिकटकमा राजनीतिक विषयवस्तुहरु सेन्सर हुने गरेको बताएको थियो। तिब्बतको स्वतन्त्रता र तियानमेन स्क्वायरसँग सम्बन्धि सामग्री हटाइएको सो खबरमा उल्लेख थियो। चीनमा रहेका कम्पनीका मोडरेटरहरुले नै कुन सामग्री राख्ने या नराख्ने भन्ने निर्णय गर्ने वासिंटन पोष्टले पनि दाबी गरेको थियो। बाइटडान्सले पहिलेको मार्गदर्शन अहिले हटाइएको र चीनभन्दा बाहिरबाट नै मोडरेशन हुने गरेको बताउने गर्छ। माइक्रोसफ्टसम्मको चासो यसैबीच, अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक खरिद गर्न इच्छा देखाएको खबरहरु बाहिरिएका छन्। माइक्रोसफ्टले टिकटकलाई हालका वर्षहरुकै सबैभन्दा अहम् प्राविधिक उत्पादन भएको बताउने गरेको छ। टिकटकलाई अब २५ वर्षभन्दा कम उमेरका युवायुवती लक्षित गरिँदैछ। यता ट्विटर र इन्स्टाग्रामलाई परिपक्व मानिसहरुको मञ्च भन्न थालिएको छ। अमेरिकामा जसले टिकटकमार्फत आफ्नो आवाज उजागर गरे, उनीहरुका लागि यो एपमाथि प्रतिबन्ध लाग्नु निकै ठूलो घाटा हुनेछ। त्यहाँ टिकटकको प्रतिद्वन्द्वी एप बाइट र ट्रिलर पनि लोकप्रिय छ। यी एपहरु पनि पनि छोटा श्रव्यदृश्य सामग्रीहरु प्रविष्ट गर्न बनाइएका हुन्। तर, अमेरिकाका मानिसहरु टिकटकसँग प्रतिबन्ध नलागेसम्म सँगै रहने देखिन्छ।
साभार : थाहाखबर
प्रकाशित मितिः  २६ श्रावण २०७७, सोमबार ०८:२९  |