जाजरकोटमा एकीकृत समाजवादी आक्रोशित : काँग्रेस–माओवादीले बेइमानी गरेको आरोप


जाजरकोट -जाजरकोटमा गठबन्धनबाट बाहिर पारिएपछि नेकपा एकीकृत समाजवादी आक्रोशित बनेको छ । सो पार्टीले काँग्रेस–माओवादीले गठबन्धनभित्र बेइमानी गरेको आरोप लगाएको छ ।  प्रदेश र केन्द्रीय गठबन्धनको संयन्त्रले भेरी नगरपालिकाको प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । तर उम्मेदवारी दर्ता गर्ने दिन (वैशाख १२) मा तीन वटै दलहरुले उम्मेदवारी दर्ता गराए । गठबन्धनको निर्णय अनुसार समाजवादीका कमान बहादुर खड्का मेयर पदका साझा उम्मेदवार हुन् भने उपप्रमुखमा काँग्रेसलाई दिने थियो ।तर  गठबन्धनको जिल्ला संयन्त्रले उम्मेदवारी फिर्ता गर्ने दिन (१६ वैशाख) सम्म फिर्ता गर्ने भन्यो ,’ खड्काले रातोपाटीसँग भने,‘ अन्तिम उनीहरुले बेइमानी गरे ।’ आइतबार साँझ सत्ता गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकमा समाजवादीलाई उपस्थित गराइएन। काँग्रेस–माओवादीका नेताहरुको सहभागितामा बसेको बैठकले भेरी नगरपालिकामा दुई दलका साझा उम्मेदवारको रुपमा माओवादीका गगनबहादुर खड्का र उपप्रमुखमा काँग्रेसकी सीता जैशी अधिकारीलाई आधिकारीक उम्मेदवार बनाएको काँग्रेसका जिल्ला सभापछि वेदराज सिंहले जानकारी दिए ।

यहाँ यसअघि काँग्रेसबाट मेयरका उम्मेदवार बनेका कृष्ण शर्माको उम्मेदवारी रद्द गरिएको छ । एकीकृत समाजवादीका जाजरकोटका अध्यक्ष समेत रहेका खड्काले भने,‘ अब हामीले एक्लै चुनाव लड्नुपर्ने बाहेक विकल्प छैन । ‘हामीले समाजवादीबाट भेरीको उपप्रमुखमा सरस्वती चन्दलाई उठाएका छौं । जाजरकोटमा एसलाई  एउटा प्रमुख र दुईवटा उपप्रमुखको भाग थियो । झण्डै एक महिनाको समय मलाई विभिन्न बैठकहरुमा अलमल्याउने खालको काँग्रेस–माओवादीले गरे,’ उनले भने । उनले थपे,‘ एउटा विज्ञप्ति निकालेर जानुपर्छ । तपाइँनै उम्मेदवार हुनुभयो भनेर पनि भने । तर आइतबार साँझ काँग्रेस माओवादीको बैठक बस्यो र उनीहरुले बैठकमा मलाई सहभागि गराएनन् । अब हामी पनि आजदेखि चुनावी अभियानमा जुटिसकेका छौं।’

खड्काले भेरी नगरपालिकामा काँग्रेस–माओवादीलाई पराजित गरिछाड्ने दाबी समेत गरेका छन् । काँग्रेस सभापति सिंहका अनुसार आइतबार भेरी सहित नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको छ । नलगाड नगरपालिकामा माओवादी केन्द्रको मेयर र नेपाली काँग्रेसको उपमेयर र शिवालय गाउँपालिकामा नेपाली काँग्रेको अध्यक्ष र माओवादी केन्द्रको उपाध्यक्ष बनाएको छ ।

अब नलगाडको मेयरका लागि माओवादीका डम्बर रावत र उपमेयरका लागि काँग्रेसका सरिता सिंह आधिकारिक उम्मेदवार भएका छन् भने काँग्रेसबाट मेयरका उम्मेदवार छवि पन्तको उम्मेदवारी प्राविधिक रुपमा फिर्ता नभएतापनि राजनीतिक रुपमा फिर्ता गरि पार्टीको तर्फबाट रद्द गरिएको सिंहले बताए । यसभन्दा पहिले भएको सत्तागठबन्धनको निर्णयले बारेकोट गाउँपालिकामा नेपाली काँग्रेस अध्यक्ष र नेकपा माओवादी केन्द्र उपाध्यक्ष, जुनीचाँदे गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष र नेपाली काँग्रेस उपाध्यक्ष, छेडागाड नगरपालिकामा नेपाली काँग्रेस मेयर र नेकपा माओवादी केन्द्र उपमेयरमा भागवण्डा मिलाइएको छ ।

कुशे गाउँपालिकामा भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल भएको छ । कुशेमा माओवादी समाजवादीको तर्फबाट अध्यक्षका साझा उम्मेदवार समाजवादीका  तप्त हमाल र माओवादीबाट विकास रोकायालाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ । काँग्रेस–माओवादीले सानो दल भनेर समाजवादीलाई कतै व्यवस्थापन गर्न नचाहेको समाजवादीको ठहर छ । श्रोत ” रातो खबर

प्रकाशित मितिः  १९ बैशाख २०७९, सोमबार १३:२४  |