गठबन्धनले राम्रो रिजल्ट दिएन्, अब सोच्नुपर्छ : सभापति सिंह


मोहन सिंह जाजरकोट १६ । नेपाली काँग्रेस जाजरकोटका सभापति वेदराज सिंहले गठबन्धनले राम्रो रिजल्ट नदिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै काँग्रेस एक्लैले धेरै स्थानीय तहका निर्वाचन जित्ने भएपनि गठबन्धनले हार व्यहोर्नु परेको बताएका हुन्।

पार्टी भित्र र गठबन्धन बाट घात तथा अन्तरघात भएकाले आगामी दिनको गठबन्धनका विषयमा सोच्नुपर्ने बेला आएको समेत बताए ।

 

उनले जिल्लाका सातवटै स्थानीय तहमा नेपाली कांग्रेसले एक्लै चुनाव जित्ने सक्ने अवस्था भएको समेत बताए ।

त्यसका बावजुद पनि गठबन्धनका नाममा कांग्रेसले चुनाव जित्ने पक्का–पक्की आधार भएका कतिपय स्थानीय तहमा प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र वडा अध्यक्ष-वडा सदस्य हामीले छोडेर निर्वाचनमा सहभागी भयौँ,’उनले भने,‘ परिणाम–पार्टी भित्रबाट अनि गठबन्धन भित्रबाट ठुलो अन्तरघात र धोकाको शिकार बन्नुपर्यो ।’

उनले केन्द्रको निर्देशन अनुशासनपूर्वक पालना गर्नु आफ्नो कर्तव्य भएकाले सोही अनुसार पालना गरिएको समेत बताएका छन् ।

प्रकाशित मितिः  १६ जेष्ठ २०७९, सोमबार १३:४९  |