जाजरकोट -संघिय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट विनियोजन गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट ल्याइएको छ । विगतको तुलनामा कर्णालीमा उल्लेखनीय रूपमा बजेट विनियोजन भएको पाइएको छ ।
जुम्ला–जाजरकोट सुरुङमार्ग अघि बढाइनेदेखि सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना र सिंजा उपत्यकाको एकीकृत विकास योजना तयार तथा कार्यान्वन गरिने लगायतका दर्जनौ योजना बजेटमा समेटिएका छन् । जसमध्ये तराई–मधेस र कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता दिन अर्थमन्त्री जनार्दन शर्माले तीन अर्ब ८८ करोड बजेट विनियोजन गरेका छन् । कर्णालीको कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ कर्णाली समृद्धि कार्यक्रम सञ्चालन गरिने छ ।
जसका लागि आगामी आव २०७९/८० का लागि अर्थमन्त्री शर्माद्धारा सार्वजानिक गरिएको बजेट बक्तव्यको बुँदा नं.३०३ मा कर्णाली समृद्धी कार्यक्रमका लागि ३ अर्ब ८८ करोड विनियोजन भएको हो । कर्णाली समृद्धि कार्यक्रमअन्तर्गत सिंजा उपत्यकाको एकीकृत विकास योजना तयार तथा कार्यान्वन गरिने, उच्च हिमाली पहाडी क्षेत्रका पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम संचालन गरिने भएको छ ।
खष भाषा, साहित्य र सभ्यताको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्ने र आर्थिक समृद्धि गर्ने लक्ष्यका साथ सिंजा उपत्यकाको एकीकृत विकास योजना तयार तथा कार्यान्वयन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
त्यसका साथै जुम्लाको ईमिल्छा हुँदै जाजरकोट सुरुङ मार्गको सम्भाव्यता अध्ययन सकाउने र निर्माण थाल्ने, जुम्ला तातोपानी गाउँपालिका–८ को टोप्ला पाटनमा हाइअल्टिच्युट टेर्निङ सेन्टर निर्माण, नाग्म गमगडी सडक स्तरवृद्धि लगायतका योजना बजेटमा समेटिएका छन् । यद्यपि हाइअल्टिच्युट टेर्निङ सेन्टर निर्माण र सुरुङमार्ग निर्माणका लागि बजेट छैन । त्यस्तै, कर्णाली करिडोर र मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित दैलेखको राकमकर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने, जुम्लाको टोप्लापाटनमा हाई अल्टिच्युड एण्ड ट्रेनिङ सेन्टर स्थापना गर्ने, जुम्लादेखि रारा, फोक्सेन्डोदेखि लिमीसम्म पर्यटकीय मार्ग निर्माण गर्ने, कर्णालीको रैथाने बाली, जैविक खेतीको विकास तथा संरक्षणका लागि कृषि क्षेत्र विकास कार्यक्रम लागू गर्ने, कर्णालीका कागुनो, मार्सी, टिमुर, सिमीलगायतका उत्पादनको बजारीकरण गरिने भएको छ ।