नलगाड -जाजरकोट जिल्लाको नलगाड नगरपालिका- एक जालेगाउँकि ४० वर्षीय भगवति शाहीको हत्या गरिएको छ । श्रीमान लेकबहादुर नेपालीले उनको हत्या गरेका हुन । उनले घरबाट लखेट्दै पचास साठी मिटर परको जालेभिरको जंगलमा लिएर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।
लेकबहादुर नेपाली र भगवति शाहीले माओवादी शसस्त्र द्वन्द्वको समयमा २२ वर्ष अघि अन्तर्जातिय विवाह गरेका गरेका थिए । दुवै माओवादी सशस्त्र द्धन्दमा होमिएका कारण पनि उनीहरुको प्रेम सम्बन्धलाई कसैले औला ठड्याउन पाएका थिएनन् । दुःखजिलो गरेर घर व्यवहार चलाएकै थिए । माइती पक्षले उक्त विवाहलाई स्वीकार गरेका थिएनन् । छोरीलाई मात्र घरमा बोलाउँथे, ज्वाईलाई बोलाएका थिएनन् । कथित माथिल्लो जात भनिने ठकुरीकी छोरी थिइन् भगवति । लेकबहादुर दलित थिए । त्यही विषयमा उनीहरु विच बेलाबेला सानोतिनो बिबाद भइरहन्थ्यो । लेकबहादुर बेरोजगार थिए । उनीहरुका एक छोरा एक छोरी छन् । बेरोजगार भएकै कारण घर व्यवहार चलाउन समस्या भएपछि उनीहरुबीच मनमुटाब पनि बढ्दै गएको थियो । पछिल्लो केही वर्ष यता लेकबहादुर धेरै जाँडरक्सी पिएर श्रीमती कुट्ने गर्दथे ।