दुई दलीय प्रणाली : एमालेको चुनावी कार्ड


४ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई दलीय शासन व्यवस्थाको वकालत गरिरहेको छ । विषेशगरी एमाले महासचिव शंकर पोखरेलले दुई दलीय प्रणाली स्थापित गर्नुपर्ने बताउने गरेका छन् । कार्यकर्तामाझ उनले ‘दुई दलीय प्रणाली एमालेको अबको बाटो’ भन्ने गरेका छन् ।

१५ फागुनमा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको ११औँ सम्मेलनको उद्घाटन कार्यक्रम सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने बताएका थिए । ‘जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झगडा’, उनले भने, ‘यसलाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणाली टु पार्टी सिस्टमतर्फ लैजान जरुरी छ ।’

एमाले र नेपाली कांग्रेसमा मुलुकलाई ध्रुविकृत गरेर चुनावी अभियान चलाउन कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन छ । ‘अब साना पार्टीलाई स्वतन्त्र रुपमा रहने अवस्था दिनुहुन्न’ उनले भन्ने गरेका छन्, ‘यस अर्थमा नेपालको राजनीतिलाई दुई ध्रुवमा बाँड्ने कुरा र त्यसमध्ये कम्युनिस्ट ध्रुव एमाले बनाउने कुरामा ध्यान दिनुपर्छ ।’

महासचिव पोखरेलको यो अभिव्यक्तिबाट साना दलहरु झस्किएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलीय प्रणालीको चर्चालाई विदेशी चलखेलको संज्ञा दिएका छन् ।

फागुन २९ गते विराटनगर पुगेर प्रचण्डले भने, ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ ।’ प्रचण्डले दुई दलीय प्रणालीको विरोधमा उत्रन निर्देशन नै दिए । तर एमाले महासचिव रोकिएका छैनन् ।

३ चैतमा अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय कमिटीले काठमाडौंमा गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले भने, ‘अहिले थुप्रै (साना पार्टीहरु) छन् । तर ती पार्टीहरुलाई चुनाव जित्न नसक्ने तहमा पुर्यायौं भने बिलाएर जान्छन् । अब गर्ने यही हो ।’

उनले ‘साना पार्टीहरुलाई चुनावमा हराइदिने र ती दलका नेता छाडेर कार्यकर्तालाई एमालेमा बोलाउने तरिका अपनाउन’ पार्टी पंक्तिलाई भनिरहेका छन् । ‘नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्यौं सम्भव भएन । अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्छ । त्यसका लगि साना पार्टीहरुलाई चुनावमा हराइदिने र कार्यकर्ताहलाई आफूसित ल्याउने हो’, महासचिव पोखरेलले भने ।

२०७४ सालको प्रदेश र संघको चुनावमा चुनावी तालमेल गर्दै अघि बढेका नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण नै भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको थियो । तर, नेकपा लामो समय टिक्न सकेन ।

 

प्रकाशित मितिः  ४ चैत्र २०७८, शुक्रबार १३:१५  |