नगरप्रमुखको तलब भत्ता बालबालिकाको शिक्षामा खर्च गरिने


जाजरकोट –जाजरकोटको छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले राज्यबाट पाउने सेवासुविधा(तलबभत्ता) विपन्न बालबालिकाको शिक्षामा खर्च गर्ने बताएका छन् ।

नगरप्रमुखको सपथग्रहण पछि पदभार ग्रहण गदै उनले आफुले जनप्रतिनिधि भए वापत पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । मैले पाउने सेवा सुविधाबाट छुट्टै कोष बनाएर विपन्न, अल्पसंख्यक, अपाङ्ग र साहाराविहिन बालबालिकाको शिक्षाका लागि खर्च गर्ने गर्नेछु उनले भने–‘सरकारले नगरप्रमुखलाई दिने तलब भत्ता रकम मेरो कार्यकाल भरी लिन्न । सवै विपन्न बालबालिकाको पढाईमा सहयोग पुग्ने गरी खर्च गर्छु ।’ छेडागाड नगरपालिकाको समृद्धि, विकास र सुशासनका लागि आफुले काम गर्ने नगरप्रमुख खड्काले बताए ।

यस अघिका जनप्रतिनिधीले पाँच बर्षको अवधीमा पालिकाको प्रशासनिक केन्द्र समेत तोक्न सकेका थिएनन् । प्रशासनिक केन्द्र तोक्न नसक्दा नगरपलिका भाडाको घरमा बस्दै आएको छ । ‘मेरो पहिलो काम नगरपालिकाको विवादित प्रशासनिक केन्द्र तोेकेर प्रशासनिक भवन बनाउने हुनेछ । त्यसपछि मात्र अन्य विकासका कामहरु अघि बढ्छन्’ उनले भने–‘सवै पक्षको सल्लाह र सहयोगमा हामी जनताको पक्षमा काम गर्नेछौ ।’

प्रकाशित मितिः  ७ जेष्ठ २०७९, शनिबार ०५:५७  |