कर्णालीका २३ वटा पालिका प्रमुख र उपप्रमुख पदमा महिला सहभागिता शुन्य


सुर्खेत, १९ जेष्ठ ।

कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्य २३ वटा स्थानीय तहको नेतृत्व महिला विहिन भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुबैमा पुरुष निर्वाचित भएका हुन ।

जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुबै पदमा पुरुष निर्वाचित भएका छन् । त्यस्तै हुम्ला ७ वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुबैमा महिला नेतृत्व चयन हुन सकेनन् भने डोल्पा ८ स्थानीय तह र कालिकोट ९ स्थानीय तहमध्ये ४÷४ स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबैमा पुरुष निर्वाचित भएका छन् ।

त्यसैगरी, जाजरकोट ७ स्थानीय तहमध्य दुइवटा स्थानीय तहको नेतृत्व महिला बिहिन भएको छ भने मुगु चार स्थानीय तह मध्ये दुई वटा स्थानीय तहमा पनि महिला नेतृत्व छैन । यता रुकुम पश्चिमका ६ वटा स्थानीय तह मध्ये दुई वटा नै महिला प्रमुख, उपप्रमुख दुबैमा पुरुष निर्वाचित भए ।

सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको नौमुले गाउँपालिकामा पनि दुबै पदमा पुरुष नै निर्वाचित भए भने जुम्लाका ८ वटै पालिकाको उपप्रमुख पदमा महिलाहरु निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने जुम्ला चन्दननाथको दुबै पदमा महिलाले नेतृत्व गरिरहेका थिए ।

प्रदेशका दुई पालिकाको प्रमुखमा मात्रै महिला नेतृत्वमा आएका छन् । सुर्खेत वीरेन्द्रनगर र दैलेख भैरबी गाउँपालिकाको प्रमुखमा महिला निर्वाचित भएका हुन । वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल र दैलेखको भैरबी गाउँपालिकामा रिता कुमारी शाही प्रमुख पदमा चुनिएका छन् ।

संविधानमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरिएपनि व्यवहारमा राजनितिक दल आफैले लागु गर्न नसकेको स्थानीय तहको निर्वाचनले पनि प्रष्ट देखाएको छ । यती मात्र होइन, प्रदेश सरकारको क्याविनेटमा समेत महिला सहभागिता शुन्य रहेको छ ।

प्रकाशित मितिः  १९ जेष्ठ २०७९, बिहीबार ०९:२८  |